हिमालयन रि- इन्स्योरेन्सलाई ४५ दिन भित्र ७ अर्ब रुपैयाँ पूँजी जुटाउन बीमा समितिको निर्देशन

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले ४५ दिन भित्र ७ अर्ब रुपैयाँ पूँजी जुटाउन निर्देशन दिएको छ । कम्पनीले कम्पनी रिजिष्ट्रारको कार्यालयबाट कम्पनी दर्ता गरेर ल्याए सँगै ४५ दिन भित्र पूँजी जुटाउन निर्देशन दिइएको अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए ।

समितिले हिमालयनलाई जेठ १७ गते लाइसेन्स प्रदान गरेको थियो । समितिबाट लाइसेन्स पाए सँगै कम्पनीले जेठ २३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेको थियो ।

कम्पनीले चुक्ता पूँजी १० अर्ब हुने जनाएको छ । १० अर्ब मध्ये संस्थापकहरुको तर्फबाट ७ अर्ब र बाँकी ३ अर्ब सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्नु पर्नेछ । संस्थापक समुहको तर्फबाट भने आगामी ४५ दिन भित्रमा जुटाइ सक्नु पर्नेछ ।

कम्पनीले पूँजी जुटाए सँगै पुनर्बीमा  व्यवसायका लागि कार्यालय स्थापना गर्ने लगायतका भौतिक पूर्वाधारको काम सम्पन्न गर्नु पर्ने हुन्छ । कम्पनीले आफ्ना सम्पुर्ण कार्य पुरा गरे पछि पुनर्बीमा व्यवसायका लागि अनुमति दिने सिलवालले जानकारी दिए ।

यस कम्पनीमा नेपाल उद्योग बाणिज्य महासंघका वर्तमान तथा निवर्तमान गरि तीन जना अध्यक्ष रहेका छन् । वर्तमान अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा र पुर्व अध्यक्ष पशुपति मुरारकाको लगानी रहेको छ । त्यस्तै नेपाल उद्योग परिसंघका वर्तमान अध्यक्ष तथा लक्की ग्रुपका सतिश मोर, शंकर ग्रुपका शाहिल अग्रवाल र सुलभ अग्रवाल, के.एल. दुगड ग्रुपका विकास दुगड, एम.भी. दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता लगायतको लगानी रहेको छ । त्यस्तै दुई सरकारी बैंक राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंकको लगानी रहेको छ । राष्ट्रिय बाणिज्य बैंकको पनि ५० करोड रुपैयाँ लगानी रहेको कम्पनीले जनाएको छ ।

शंकर ग्रुपका साहिल र सुलभ अग्रवालको लिडिङ सेयर रहेको छ । यसमा हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहेको सुशील भट्टका दाजु दीपक भट्टलगायतको समूहको पनि लगानी रहेको छ ।

Source: https://insurancekhabar.com/2021/06/116040/



Leave a Reply